We are closed until January 17, 2025 (04 Magh 2081).
यस्तो थियो ९० सालको भूकम्पपछि पुननिर्माणको काम
काठमाडौँ : ९० सालको भूकम्प गएको दिन माघ २ गतेको अवसर पारेर सरकारले वैशाखको भूकम्पपछिको पुननिर्माण कार्यको औपचारिक सुरुवात गरेको छ। ९० सालको भूकम्पपछिको पुननिर्माणको काम कसरी भएको थियो ? ब्रह्मशमशेरको पुस्तकमा यसबारे बयान गरिएको छ। केही अंश-
व्यवस्थित आवासको योजना
सहरभित्र बस्ने इच्छा नभई अन्तै बाहिर आधा रोपनी एक रोपनीसम्म जग्गा पाए म्युनिसिपलिटीका रुल बमोजिम अर्कै सहर हुने गरी छुट्टाछुट्टै घर बनाई बस्दो हुँ भन्ने कसैका इच्छा भए त्यस्ताले आफ्नो टोल, ठाउँ, नाउँ खुलाई सरकारमा दरखास्त दिइराख्नू; त्यस्ता मानिस कहाँ कति हुने रहेछन्, तिनलाई बस्न माफिकको जग्गा भए नभएको समेत हेरी टाउन प्लानिङ अर्थात् नयाँ काइदाको सहर बनाउनेतर्फ विचार गरिबक्सनेछौँ।
भूकम्पपीडित राहत तथा उद्दार कोष
यो दुर्घटनाले पीडित भएका, निराधार, दीनदुःखीहरुको उद्धार, सुधार, सहायताहरु गर्नाका उद्देश्यले भूकम्प पीडितोद्धारक संस्था खडा गरी त्यसमा भूकम्प पीडितोद्धारक फन्ड भन्ने नामको एउटा फन्ड खोलीबक्सेको छ। त्यसमा हामीबाट ३ लाख र वडा महारानीबाट १ लाख रुपैयाँ राखिबक्सेको छ। यो ठूलो पुण्य कार्यमा हामी पनि द्रव्य अर्पण गर्न चाहन्छौँ भनी खुद आफ्नै इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यो फन्डको संस्थाबाट यही सत्कार्यमा लगाइनेछ। दिनेहरुको नाम पनि प्रकाशित हुनेछ।
यो अवस्थामा प्रायः सबैको घर भत्की, बिग्री धेरै आर्थिक बोझ सबैलाई पर्न आएकै हुनाले आफ्नो आफ्नो घर तयार गर्ने काममा आफू आफूले खर्च गरी आफ्नै बलले आफू उठ्नु पनि फन्डैमा राखे जस्तो सम्झिबक्सनेछौँ।
ऋणको व्यवस्था
तीन सहर राजधानी भित्रका घरहरु बनाउन मर्मत गर्न अहिले आफ्ना पासमा रहेको धनको साबगासले पुग्न नसकी मद्दत चाहनेहरुलाई जाँचबुझ गरी मद्दत दिनुपर्ने देखिएमा सरकारबाट घर जेथा धितो लेखाई लिई मनासिब देखिएसम्मको रुपियाँ पटक पटक गरी उपल्लो ४ वर्षसम्मलाई निर्ब्याजी सापटी दिनालाई भूकम्पपीडित सहाय ऋणका रुपमा अहिले ५० लाख रुपियाँ पनि हामीबाट परसारिबक्सेको छ। सो रुपियाँ सापट लिनेले लिएका मितिदेखि ४ वर्षसम्ममा चुक्ति गरी सरकारमा बुझाइसक्नु पर्नेछ। म्यादभन्दा अगावै पटक पटक गरी एकै मुष्ट बुझाउन ल्याएको पनि बुझिनेछ। वैशाख अर्थात् भूकम्पको तीन महिनापछि सापटी दिने काम सुरु भयो।
विदेशी सहयोग अस्वीकार
भूकम्पको खबर थाहा हुनासाथ विदेशहरुबाट नेपाल सरकारमा सहानुभूतिको वर्षा हुन थाल्यो। बेलायत लगायत अरु विदेशहरुबाट समेत आयो। हिन्दुस्थानका बडा पुरुषहरुमध्ये कवि रवीन्द्रनाथ ठाकुर, पं मदनमोहन मालवीयहरुबाट सहानुभूतिको तार आयो। इन्डियन मेडिकल सोसाइटी र मारवाडी रिलिफ सोसाइटीहरुले सहायताको दरकार परे समर्पण गर्दछौँ भनी तार पठाए। तर सबैलाई धन्यवाद र कृतज्ञता जनाई जवाफ गयो। मारवाडी रिलिफ सोसाइटीलाई तल लेखिएको उत्तर गयो- तारको निमित्त धन्यवाद। अहिले सहायताको दरकार छैन।
यो कुरा र भारत सरकारबाट पनि नेपाललाई सहायता दिने इच्छा प्रकट गरेकोमा नेपालबाट त्यहाँ पनि नोक्सान पर्न गएकाले सहायता स्वीकार गर्न चाहन्नम्। यसरी दुवै देशमा नोक्सान परेको बखतमा आफ्नो सहायता आफैले गर्नाको आवश्यकता छ भन्ने जवाफ गयो भनी विश्वमित्र छापामा छापिएको थियो।
ऋण बाँड्ने तरिका
वैशाख महिनादेखि ऋण बाँड्न सुरु भयो। त्यो सापटी (ऋण) बाँड्ने कायदा यस्तो थियो-
रिलिफ फन्डबाट बकस पाइसकेकाहरुलाई सापटी नदिने
तिर्न सक्ने हैसियत पुगेकालाई बकस र तिर्न नसक्ने दुःखीलाई सापटी नदिने।
सापटी दिँदा मानिसको औकात र घर जमिन अनुसारसम्म लेखिदिन हुने।
दोस्रा तेस्रा पटक दिनलाई पनि घर बनाए नबनाएको र रुपियाँ खर्च भए नभएको अञ्जाम गरी मात्र बाँडिदिने बन्दोवस्त भएको थियव। पछि ९१ साल माघसम्ममा सबैलाई एकै पटक दिने बन्दोबस्त भयो।
राहतको उपाय
सरकारले कर्कटपाता विदेशबाट झिकाई रोप्वे महसुल घटाई बकुवाना माफ गरी घर बनाउनेहरुलाई सस्तो मोलमा बेचियो। करिब मो रु ४ लाख जतिको बिक्री भयो।
From: http://www.pahilopost.com/content/-12082.html